| चर्चित प्रशिक्षक तथा पुस्तक लेखकहरुबाट नयाँ कक्षाहरु भईरहेका छन् |      

बझाङले पहाड चिनायो, कैलालीले तराई

गोकर्णप्रसाद उपाध्याय १० बैशाख २०७८,शुक्रबार

मेरो पहिलो धड्कन बझाङमा चल्यो । गोलाई जिउलाको सिरानीमा । चेत त्यही खुल्यो । बोली त्यहीँ फुट्यो । पहिलो पाईला त्यही स¥यो । पहिलो अक्षर त्यही चिनेँ । पहिलो खुशी त्यही पाएँ । संस्कार सिक्न त्यही सुरु गरेको हुँ, सिक्दैछु । समय बित्दै जाँदा आकाश, धर्ती, पहाड, खोलानाला, झरना, राम्रो नराम्रो । समग्रमा, जीवन बुझ्न त्यहीँबाट सुरु भयो र बुझ्दैछु ।


समय र परिस्थितिले मान्छेलाई डो¥याउने हो । मलाई पनि डो¥याउन थाल्यो । म डोरिदै जन्मथलोबाट पहिलो पटक भ्रमण गरेको जिल्ला हो कैलाली । सैपालको चिसो हावा सेती नदीसँगै सुसाएर सिरिरी बहने पहाडी भूमिबाट मरुभूमिबाटै गर्मीसँगै आउने रापिलो लुलगायतका हावा बहने तराइको यात्रा कम्ती कौतुहलपूर्ण थिएन । त्यसमाथि उमेर पनि रापिलै ।
जहिल्यै मेरो घरको छानोमाथिको आकाश भएर उड्ने र बेलाबेला मेरा बा र ठूला बालाई ओसार्ने शाही नेपाल वायुसेवा निगमको 'ट्वीन अटर' विमान पहिलो पटक चढेको कैलालीको धनगढी जानलाई नै हो । उडेको प्लेनभन्दा पनि देवल एअरपोर्टमा बस्दा त्यो निर्जीवको सेतोमाथि रातो र निलो धर्के पुच्छर माछाको पुच्छरभन्दा पनि मन पथ्र्यो ।


प्लेन चढ्ने अघिल्लो राति नौ बजे आसपास, बासँगै रेडियो नेपालबाट शाही नेपाल वायुसेवा निगम (आरएनएसी) को उडानसम्बन्धी सूचनामा 'आरए.... धनगढी-चैनपुर-धनगढी बिहान नौ तीस बजे' भनेको सुन्दा कम्ती आनन्द आएको थिएन । उता नौराको डाँडो, यता पुङरको लेक, तल बस्टीको थुम्को र माथि सैपाल हिमालसम्म मात्रै संसार छ भन्ने सोचेको मलाई सबैभन्दा बढी कौतुहल उडेको केही पलमै अलप हुने यो प्लेन जान्छ कहाँ भन्ने थियो ।
सुरुमा सेती नदीको माथिमाथि उडेको प्लेन एकछिनपछि कता लग्यो लग्यो ? बादल, पहाड, खोला, जंगल, फाँट सबै छर्लंगै देखिने गरी प्रकृतिको सयर गराउँदै आधाघण्टा जतिमा धनगढी पु¥यायो । प्लेनमा दिएको कटन बाले मेरो कानमा हालिदिएका थिए म हल्लिदाँ कतिबेला झरिसकेछन् । यात्रामा मैले प्लेनको चकलेट खाएँ, प्लेनले मेरो कान ।


पहिलो पटक घर छोडी हिडेको, पहिलो पटक डाडाँकाडाँरहित तराइ देखेको, बस चढेको, रिक्सामा गुडेको, साइकल देखेको, घरघरमै पम्पबाट पानी तानेको, बयलगाडा कुदेको । के-के हो के-के ? यस्ता धेरै कुरा मलाई कैलालीले नै देखायो, चिनायो, अनुभव गरायो । यसर्थमा मलाई बझाङले पहाड चिनायो, कैलालीले तराई । 
घरमा आमालाई छोराछोरी हुर्काउन गाह्रो हुँदै गएपछि जागिर भएकै ठाउँमा राख्ने गरी बाले मलाई आफूसँगै कैलालीको चौमाला ल्याएका हुन् । तराइको हावापानी र खानपीनसँग घुलमिल हुँदै गएँ । पढाइ त सायद प्लेन चढ्नुअघि बझाङ्तिरै बिर्सिएछुँ क्यार ! अन्यत्र ध्यान बढी । पढ्नु परे बहाना बनाउने मलाई, चकचक र बद्मासी गर्न बहाना चाहिन्थ्यो ।


हरेक दिन पाउरोटी र दुध खान 'टिफिन टाइम'मा बाले दिने दुई रुपैयाँ लिन म स्कुलबाट एक बजे वाणिज्य बैंक पुग्थे । 'क्यासिएर' मेरा बा भने कहिलेकाही खाजा खानै पाउँदैनथे । एकदिन बैंक बन्द भएपछि खाजा खान बा बजार गएका बेला मलाई चकचक गर्ने हुटहुटी चल्यो । बाहिर पहाडमा हुने साना साना घोडा आकारकै खसीबोकाको हुल देख्दा घोडा चढेझै चढ्न रहर जाग्यो । खसी हो या बोका ? बोका नै थियो जस्तो लाग्छ । नजिकै गएँ । सुम्सुम्याएँ । डो¥याएर अलि वर ल्याएँ । लामालामा विकासे कान । तिनै कान समातेर उसमाथि उक्लिएँ ।
चौरमा दुई फन्को कुदाएर बोकाले नमज्जाले उछिट्याइदियो । तराइको धुपमा दिउँसै तारा देख्ने गरी पछारिएँ । दाहिने काँधको हड्डी क¥याककुरुक गएछ । तीघ्रामा पनि चोट लाग्यो, सायद त्यसको सिंगले हुनुपर्छ । झण्डै मैलाई खसी पारेको । निकै चकचके भएको प्रमाण जीवनभरका लागि बन्यो । एकछिन अघि बोकाका कान समात्ने मैले यतिबेला आफ्नै कान समाते । आइन्दा चकचक गर्दिँन भनेर हैन । यस्ता पाजी बोका चढ्ने छैन भनेर ।
म, बा र दाई बस्थ्यौं चौमालामा । दाई अर्थात ठूला बाको छोरा । म लडेर दाहिने हात नचलेको देखेपछि दर्शकदीर्घामा बसेको दाई नजिकै आयो । भाँचिएको अनुमान गरेर बालाई भन्न दगुर्नै आँट्दा अर्को हातले च्याप्प समातेर बालाई नभन्न भनेँ । बद्मासीको बदला रामधुलाई भेट्ने डरले । ऊ तुफान कुदेर गयो । मलाई अरु मान्छेहरुले बोकेर पालीमुनिको खाटमा सुताए । तराइमा खाट र चारपाई हुन्थे । काठैकाठले बनेको खाट । चारओटा खुट्टा र डण्डीलाई डोरीले कसिलो गरी बाँधेर बनाइएको चारपाई ।
बोकाबाट बजारिएको खबर पाउनासाथ खाइरहेको खाजा छोडेर खुइयँ गर्दै बा मलाई सुताई राखेको खाटछेउ आइपुगे । यसपाला बा रिसाएनन् । बरू दवाई गर्न दौडाए । पहिलो पटक महसुस भयो सन्तानको स्वास्थ्य र दीर्घायु हरेक बाआमाको पहिलो प्राथमिकता हुने रै'छ । पहाडमै लडेर हात भाँचिएको भए के गर्थे होलान् मेरा बा ? कति तनाव हुँदो हो ?


त्यतिबेला एम्बुलेन्स त पढ्नमात्र पाइन्थ्यो, चढ्न पाइदैनथ्यो । म 'साइकल एम्बुलेन्स' चढे पहिलो पटक । सुरुमा साइकल चढेको सायद त्यतिबेलै हो । बालाई साइकल चलाउन नआउने । पटबारी चौधरी दाईले साइकलको अगाडिको डण्डीमा राखे । पछाडिको करियरमा बस्न सक्नेवाला थिइँन । लडेर अर्को हात पनि गयो भने ? बच्चालाई बस्न बनाइएको सानो सिट थिएन । डण्डीमा कपडा बेरेर सिटजस्तै बनाइएको । निर्माणाधीन महेन्द्र राजमार्गको चौमाला-अत्तरिया खण्डमा मेरो 'साइकल एम्बुलेन्स' अघिअघि र बालाई बोक्ने साइकल पछिपछि ।
अलकत्रा छरेर त्यसमाथि एक चरण छरिएका ससाना सेताकाला गिट्टीमाथि अधेँरी रातमा साइकलका पांग्राको घर्षणले आगोको झिल्का देखिँदा रहेछन् । एकसुरले सडकका गिट्टी हेरिरहँदा खुब रमाइलो लाग्थ्यो । यस्तो पहिले कहिल्यै देखेको थिइनँ । केटाकेटी भएकोले होला हात दुखाईको पीडालाई सडकका झिल्काको आनन्दले जितिरहेको थियो ।


उपचारको लागि दिल्ली जादै गरेको कुरा अत्तरिया पुगेर एकजना आफन्तलाई बाले भनेको सुनेपछि मनमनै बोकालाई धन्यवाद दिएँ, अनि आफूलाई बधाई । सोचेँ दिल्ली घुम्न पाइने रहेछ मेरो हात पहिल्यै किन भाँचिएन ? 
बनबासाको पुल हुँदै खै कति घण्टाको यात्रापछि हामी दिल्ली पुग्यौं ! साईकल, टांगा, रिक्सा, बस, रेल, टेम्पो सबै चढ्न पाइयो । ओहो, दिल्लीका गाडी । कहाँबाट आएर कहाँ जाने हुन् ? त्यति धेरै रेल । टोपी झर्ने गगनचुम्बी भवन । या ठूला सडक । लाल किल्ला । चिडियाखाना । घरभित्रै पानी आउने धारा । खेलौना, गाडी । बगैचा । बडेमाको अस्पताल । सबै पहिलो पटक त्यही देखेको । करिब एक हप्ते दिल्ली बसाइँ, घुमाई र उपचारपछि सेतो 'प्लास्टर' लाएको हात झुण्डाउँदै फर्कियौं ।


एक त तराईको गर्मी, पहाडबाट झरेको म । बा मेरो स्वास्थ्यप्रति खुब चिन्ता गर्थे । बा आमाको अहिले पनि उस्तै छ । पहाडबाट तराइ झरेकोले गर्मी नलागोस् भनेर बा विजयसालको काठको अम्खोरामा पानी पिउन दिन्थे । हरेक दिन बिहान उठ्नासाथ निमको पात चपाउन दिन्थे । त्यति तीतो चीज पहाडमा केही खानुपरेको थिएन । तीतेपाती भन्दा पनि तीतो । तर बानी पर्दै गयो । बा भन्थे "निमको पात नियमित ५ वर्ष खाए सर्पको विषले पनि छुन्न अरे !" 
तराइमा सर्पको बिगबिगी हुने । सर्पले डसेर मृत्यु भएका खबर आइरहन्थे । गोमन, करेत, धावन । पहाडको घरमा भएको 'डाक्टर नभएमा' नामक किताब सम्झिन्थे बेलाबेला । त्यसमा प्राथमिक उपचारको सबै विधि उल्लेख थियो । म सर्पलाई पनि मात खुवाउने सुरमा नियमित निमपत्ता खान्थे ।


बझाङ आउने जाने क्रम चलिरह्यो । पडाड पनि चिन्दै गएँ । तराइ पनि देख्दै गएँ । अहिलेसम्म दुवै काम भईरहेकै छ । भईरहने छ । किनकि मलाई पहाड चिनाएको बझाङले नै हो र तराई चिनाएको कैलालीले नै ।
-उपाध्याय लेखक नेपाल सरकारका उपसचिव हुन् ।

Share this