| चर्चित प्रशिक्षक तथा पुस्तक लेखकहरुबाट नयाँ कक्षाहरु भईरहेका छन् |      

पढेको कुरा याद राख्न विद्यार्थीले के गर्ने, के नगर्ने ?

१० बैशाख २०७८,शुक्रबार

पढेको कुरा याद राख्न विद्यार्थीले के गर्ने, के नगर्ने ?

आफूलाई जति स्मार्ट सम्झिए पनि तपाईं आफ्नो स्मरणशक्तिको सत्प्रतिशत उपयोग गर्न सक्नुहुन्न । धेरै छात्रछात्राले आफूले पढेको पाठ स्मरण गर्न सही तरिका अपनाउन नसकेको कैयौं सर्वेक्षणले देखाएका छन् ।
विद्यार्थीले अक्सर पाठ स्मरण गर्नको लागि फरक-फरक खालको सल्लाह पाइरहन्छन् । आमा-बुबा एक थोक भन्छन्, साथी र शिक्षक अर्कैथोक । अर्कोतिर विज्ञहरुले आफ्नो अनुसन्धानको आधारमा नयाँ सल्लाह दिन्छन् । फलस्वरुप हामी पढेको कुरा याद गर्ने सही तरिका के हो भनेर कन्फ्युज्ड हुन्छौं ।
यस्तोमा मनोविज्ञानको एक प्रख्यात पत्रिकाले पढेको याद राख्ने पाँच सही र गलत तरिकाको बारेमा परिक्षण गरेको छ ।
पहिलो रणनीतिः दोहोर्याएर पढ्ने
तपाईं नयाँ शब्द सिक्ने कोसिस गरिरहनुभएको छ भने धेरैले अपनाउने सबैभन्दा आम रणनीति हो मुखमा नझुण्डिएसम्म रटान लगाएर घोक्ने ।
तर, मनोवैज्ञानिकका अनुसार यो तरिका ठिक होइन । रटान लगाए पनि हाम्रो दिमागले लामो समय यी कुराहरुलाई सुरक्षित रुपमा भण्डारण गरेर राख्न सक्दैन ।
केही समयको अन्तरमा पढ्नुहोस्
तपाईं कुनै किसिमको विषय वा पाठलाई याद राख्न चाहनुहुन्छ भने त्यसलाई थोरै-थोरै अन्तरपछि मात्रै दोहोर्याएर पढ्नुहोस् । यसले तपाईंको स्मरणशक्ति ताजा रहन्छ । कुनै पुस्तकको एक अध्याय पढ्नुहोस् र फेरि केही समय अर्कै अध्याय पढ्नुहोस् । केहि अन्तरालपछि फेरि पहिले पढेको पाठ पढ्नुहोस् । यो अन्तर एक घन्टा, एक दिन वा एक साताको हुन सक्छ ।
पढिसकेपछि आफूले पढेको कुरा कति सम्झिएँ भनेर आफैंले परिक्षा लिन सक्नुहुन्छ । यसो गर्नाले तपाईंको दिमाग उक्त विषयसँग कैयौंपटक आमने सामने हुन्छ ।
दोस्रो रणनीतिः मुख्य बुँदालाई अण्डरलाइन गर्नुहोस्
दोस्रोपटक पढ्ने वा रटान लगाउने तरिका जस्तै यो रणनीति पनि धेरै नै आम हो । यो उपायमा कुनै खराबी छैन । पढ्ने बेलामा तपाईंलाई जुन कुरा, शब्द वा वाक्य महत्वपूर्ण लाग्छ त्यसलाई चिन्ह लगाएर अण्डरलाईन वा हाइलाइट गर्नुहोस् ।
तर, मनोविज्ञानले भन्छ कि यो उपायले धेरैजसो काम गर्दैन । धेरै विद्यार्थीहरुले महत्वपूर्ण वाक्य र कम महत्वपूर्ण वाक्यमा फरक नै छुट्याउन सक्दैनन् । त्यसैले पुरा प्याराग्राफ नै अण्डरलाईन गर्छन्, जुन प्रभावकारी हुँदैन ।
रोकिएर सोच्नुहोस्
कुनै पनि पुस्तक एकपटक पढेपछि त्यसको जुन हिस्सा तपाईंलाई महत्वपूर्ण लाग्छ त्यसलाई अण्डरलाईन गर्न विज्ञहरुले सल्लाह दिन्छन् ।
तर, दोस्रोपटक पढेर यो काम गर्नुभयो भने तपाईंलाई दोस्रोपटक त्यसै विषयमा सोच्ने मौका मिल्नेछ । तपाईं हरेक वाक्यलाई अण्डरलाईन गर्नबाट बच्नुहुन्छ । त्यसैले महत्वपूर्ण भाग मात्रै विचार गर्नुहोस् ।
तेस्रो रणनीतिः नोट बनाउने
कुनै पनि क्लासरुम वा लाइब्रेरीमा पस्दा धेरैजसो विद्यार्थीहरु नोट बनाउँदै गरेका देखिन्छन् । अति उत्साहमा उनीहरु फाल्तु कुराहरु पनि नोट गर्ने गर्छन् । तर, पछि ती नोटहरु केही काम लाग्दैनन् ।
छोटो र सानो नोट बनाउनुहोस्
विद्यार्थीले जति कम नोट बनाउँछन् त्यति नै उनीहरुलाई पढेको कुराहरु याद हुन्छ । किनभने पढेको कुनै कुरालाई शब्दमा नोट गर्दा गहिराईमा गएर बुझनुपर्ने हुन्छ । शब्द र वाक्यलाई नयाँ तरिकाबाट सम्झिनुपर्छ ।
यसो गर्दा तपाईंको दिमागले पढेको कुराहरुलाई दोस्रोपटक याद गर्छ । महत्वपूर्ण कुराहरुलाई स्टोर गर्छ । अक्सर कागजमा कलमले नोट बनाउनु धेरै फाइदाजनक हुन्छ । ल्यापटप वा कम्प्युटरमा टाइप गरेर नोट बनाउनु पाठहरु स्मरण गर्ने त्यति प्रभावकारी तरिका होइन ।
विषयको गहिराई बुझ्नुहोस्
पहिले एक सामान्य खाका तयार गर्नुहोस् र फेरि विषयको गहिरो कुराहरुलाई त्यसमा टिपोट गर्नाले याद राख्न सजिलो हुन्छ । यसले विषय सम्भिmन पनि धेरै सजिलो हुन्छ ।
तपाईं कुनै पनि लेक्चरको महत्वपूर्ण कुराहरुलाई बुलेट प्वाइन्ट तयार गर्न सक्नुहुन्छ । याद राख्नुहोस् जति कम शब्दमा लेख्नुहुन्छ त्यति नै पछि याद गर्न सजिलो हुन्छ ।
चौथो रणनीतिः आफ्नै परिक्षा लिने
धेरै विद्यार्थीहरुले आँफैसँग परिक्षा लिएर कत्तिको तयारी भएको छ भन्ने बुझ्ने गर्छन् । तथ्यहरुलाई कति गहिराइले सम्झिएको छ यो थाहा पाउनको लागि आँफै प्रश्न गर्छन् र उत्तर लेख्छन् । यसले स्मरणशक्ति बढ्छ र, पछि परिक्षामा अझै राम्रो गर्न सकिन्छ ।
अति आत्मविश्वासबाट बच्नुहोस्
धेरै मानिसहरु उनीहरुको दिमागको सम्झिने सीमा कति छ भनेर थाहा पाउँदैनन् । उनीहरु आँफैलाई धेरै स्मार्ट सोच्छन् । जबकी वास्तविकतामा उनीहरु त्यति चतुर हुँदैनन् । अति आत्मविश्वासबाट सबैजना बच्नुपर्छ ।
कुनै पाठ स्मरण गर्न जति सावधानी र मेहनत गर्नुपर्छ उनीहरु त्यो गर्न पाउँदैनन् । अति आत्मविश्वासमा मानिसहरु आफूलाई याद भएको दाबी गर्छन् । तर, आवश्यकता परेको बेलामा पछि उनीहरु दिमागबाट उक्त पाठ निकाल्न पाउँदैनन् ।
हामी जे पढ्छौं त्यसको एक ठूलो भाग पछि भुल्न सक्छौं । यसैले कुनै पाठ पढेको केही अन्तरालपछि नै आँफैलाई दोस्रोपटक जाँच गर्नुहोस् र विचार गर्नुहोस् साँच्चै नै याद भएको छ कि छैन ।
(बीबीसीबाट अनुदित)

Share this