| बन्ने होइन त अधिकृत ?? |      

नेपालको भौगोलिक अवस्था : स्वरुप, किसिम र विशेषताहरु

Loksewa Gyan
नेपालको भौगोलिक अवस्था : स्वरुप, किसिम र विशेषताहरु

नेपाललाई भौगोलिक हिसावले हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । नेपाल पृथ्वीको उत्तर पूर्वी गोलाद्र्धमा चीन र भारतको बीचमा इँटा आकारमा रहेको छ । यस देशको अक्षांश २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ भने ८० डिग्री ४ मिनेट ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर अर्थात ५६,८२७ वर्ग माइल रहेको छ । जुन क्षेत्रफल वि. सं. २०३६ सालमा कायम भएको थियो ।
नेपालमा सुगौली सन्धीअघि नेपालको कूल क्षेत्रफल २,०४,५१६ रहेको थियो । नेपालले पृथ्वीको कूल क्षेत्रफलको ०.०३ प्रतिशत ओगटेको छ भने एसिया महादेशको ०.३ प्रतिशत क्षेत्रफल ओगटेको छ । नेपालबाट सबैभन्दा नजिक पर्ने समुन्द्र बंगालको खाडी हो जुन समुन्द्री सतहदेखि ११२७ किलोमिटर अर्थात् ७०० माइलको दूरीमा रहेको छ । नेपालको पूर्व–पश्चिम लम्बाई ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर रहेको छ भने अधिकतम् चौडाई २४१ र न्यूनतम १४५ रहेको छ । यस देश हिमाल, पहाड, तराईमा अवस्थित भएको हुँदा यसको सबैभन्दा होचो भू–भाग धनुषा जिल्लाको मुसहरनिया ५९ मिटरदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथाको चुली ८,८४८ मिटरसम्म फैलिएको छ । उत्तरमा हिमाली प्रदेश, बीचमा पहाडी प्रदेश र दक्षिणमा तराई प्रदेश रहेकोमा पूर्वका सप्तकोशी सिञ्चित कोशी प्रदेश, बीचमा सप्तगण्डकी प्रवाहित गण्डक प्रदेश र पश्चिममा कर्णाली बहने कर्णाली प्रदेश रहेको छ । नेपालमा २८ वटा हिमश्रृंखलाहरु रहेका छन् भने ८००० मिटरभन्दा अग्ला १४ वटा विश्वका हिमालमध्ये आठ वटा हिमालहरु रहेका छन् । ६,००० वा सो भन्दा अग्ला १,३११ वटा चुचुराहरु रहेका छन् ।
नेपालका ६,००० भन्दा बढी नदी–नालाहरु, ५३५८ वटा तालहरु, २३२३ वटा हिमतालहरु तथा अनौठा कुण्ड र झरनाहरु रहेका छन् । विश्वकै अग्लो घाँटी पूर्वीध्याँचु घाँटी हो भने विश्वकै गहिरो उपत्यका अरुण उपत्यका हो । विश्वकै गहिरो गल्छी भनेर कालीगण्डकीको गल्छीलाई चिनिन्छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पूर्व, दक्षिण र पश्चिमतर्फ भारतका पाँच वटा प्रदेशहरुले घेरिएको भूपरिवेष्ठित देश हो । नेपालको पूर्वी अन्तिम विन्दु ताप्लेजुङ, पश्चिमी विन्दु कञ्चनपुरको दोधारा, उत्तरी विन्दु हुम्लाको चाङ्ला भञ्याङ र दक्षिणी विन्दु झापाको लोदोबारी रहेको छ । नेपालको उत्तरी सिमानामा हिमालय पर्वत, दक्षिण सिमानामा दशगजा क्षेत्र, पूर्वको सिमानामा मेची नदी र पश्चिमी सिमानामा महाकाली नदी पर्दछ । नेपालको क्षेत्रफल भारतभन्दा २२ गुणा, चीनभन्दा ६५ गुणा, र विश्वकै सवैभन्दा ठूलो देश रुसभन्दा ११६ गुणा सानो रहेको छ ।
भारत र चीनपछि नेपालसँग नजिक सिमाना जोडिएको मुलुक बंगलादेश हो । जुन नेपालबाट २७ किलोमिटर दूरीमा रहेको छ भने भुटान नेपालबाट ३२ किलोमिटर दूरीमा रहेको छ । नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशले चीनलाई मात्र र प्रदेश नम्बर २ र ५ ले भारतलाई मात्र छोएको छ भने बाँकी चार प्रदेशले चीन र भारत दुबैलाई छोएको छ । नेपालको ताप्लेजुङ र दार्चुला जिल्लाले चीन र भारत दुबै देशलाई छोएको छ । भारतलाई मात्र छुने १३ वटा जिल्ला रहेका छन् भने २५ वटा जिल्लाले भारतलाई मात्र छोएको छ र ३७ वटा जिल्लाले कुनै पनि देशको सिमाना छोएको छैन । नेपालको तीन वटा जिल्ला भक्तपुर, नुवाकोट र लमजुङले आफ्नो अञ्चल सिमाना समेत छुँदैन । नेपाल एसियाको मध्य भागमा अवस्थित भूपरिवेष्ठित देश हो जसलाई गौतम बुद्धको जन्मभूमिको देश तथा तेस्रो ध्रुवको देश र लडाकुको देश भनेर भनि चिनिन्छ ।
नेपालका धेरै किसिममा भाषा तथा धर्म मान्ने मानिस भएता पनि यहाँ सबभन्दा धेरै हिन्दू धर्म मान्ने तथा नेपाली भाषा बोल्नेको संख्या उल्लेख्य रहेको छ । नेपाल क्षेत्रफलको आधारमा विश्वको ९३औं ठूलो मुलुकमा पनि पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा रहेको गौरीशंकर हिमाललाई आधार मानेर निर्धारण गरिएको हो । यसले ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आभार मानि वि. स. २०४२ बैशाख १ गतेदेखि मान्यता पाएको हो । नेपालको प्रमाणिक समय ग्रिनहृच मिन टाईमभन्दा ५ घण्टा ४५ मिनेट छिटो रहेको छ । नेपालको भौगोलिक विभाजन हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश गरी तिन तहमा विभाजन गरिएको छ । हिमाली प्रदेश उत्तरमा रहेको छ । हिमाली क्षेत्रमा २८ वटा हिमश्रृंखलाहरु रहेका छन् । हिमाली क्षेत्र ३,००० मिटरदेखि ८,८४८ मिटरसम्मको उचाईमा फैलिएको छ ।
हिमालमा २१ वटा जिल्लाहरु रहेका छन् भने पहिलो स्तरको नदीको उत्पत्ति वा प्रवाहको शुरुवात रहेको क्षेत्र पनि रहेको छ । यहाँ अधिकांश मंगोलियन समुदायका जातिहरुको बाहुल्यता रहेको छ । न्यून तापक्रम अनि न्यून वर्षा र हिमपातका कारण जनजीवन र विकासमा कठिनाइ हुने गर्दछ । यस क्षेत्रमा बौद्धमार्गीहरुको बाहुल्यता र गुम्बाहरुको प्रचुरता रहेको छ । यहाँ पशुपालन, पर्यटन र फलफुल खेतीको सम्भावना रहेको छ । यस क्षेत्रमा लेकाली र हिमाली हावापानी पाइने, लेकाली र टुण्ड्रा वनस्पति पाइने तथा पाँचऔंले, जटामसी, यार्सागुम्बा लगायतका महत्वपूर्ण जडिबुटीहरु पाइने गर्दछ । नेपालको मध्य भागमा पहाडी प्रदेश पर्दछ जुन समुन्द्री सतहको ६०० मिटरदेखि ३,००० मिटरसम्म फैलिएको छ । यस क्षेत्रमा ३५ जिल्लाहरु पर्दछन् । उत्तरमा पूर्वदेखि पश्चिममा महाभारत पर्वतसम्म फैलिएको छ । मध्य भूमि, ठूला टारहरु बसी र उपत्यका यस क्षेत्रमा पर्नुका साथै न्यानो समशितोषणदेखि ठण्डा समशितोषण हावपानी पाइन्छ । रहन–सहन, भेषभूषा, जाति, धर्म र संकृतिका विविधता रहेको र प्रशासनिक केन्द्रहरु अव्यवस्थित रहेका छन् । यस क्षेत्रका मानिसहरु कृषि, पशुपालन, सेवा तथा व्यापार–व्यवसायमा संलग्न रहेका छन् । नेपालको पहाडी प्रदेशमा आफै जलविद्युतको उत्पादन गरी ऊर्जा संकटलाई समाधान गर्दै अगाडि बढेको छ । मानवीय बसोबासको लागि स्वास्थकर हावापानी पाइने हुँदा स्वास्थ्यको दृष्टिकोणले उपयुक्त वासस्थानरुपमा समेत पहाडी प्रदेशलाई चिनिन्छ । नेपालको पहाडी प्रदेश समयसापेक्ष रुपमा विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको छ ।
भौगोलिक विकटता तथा धरातलीय अवस्थाले विकास निर्माणमा केही असर गरेको भएता पनि हाल विकास र समृद्धिले गर्दा काम गर्न सहज भएको छ । अरु प्रदेश जस्तै पहाडी प्रदेशले पनि धेरै क्षेत्रमा फड्को मार्ने क्रम जारी छ । त्यसैगरी नेपालको होचो भू–भाग भनि तराई प्रदेशलाई भनिन्छ । जुन समुद्धि सतहको ५९ मिटरदेखि ६०० मिटरसम्म फैलिएको छ । तराई प्रदेशमा नेपालका २१ जिल्लाहरु पर्दछन् भने देशको कूल भू–भागको २३ प्रतिशत ओगटेको छ । तराई प्रदेशले नेपालको १७ प्रतिशत भू–भाग ओगटेको छ । नेपालको तराई प्रदेशलाई उद्योगको मुटु भनि चिनिन्छ भने यहाँ नेपालको ८० प्रतिशत उद्योगहरु यही प्रदेशमा रहेका छन् ।
विभिन्न पर्यटकीय स्थल तथा ठाउँहरुले पवित्र यस प्रदेशमा लुम्विनी, जनकपुरधाम, बन्दिपुर, घोराई तथा सौराह जस्ता पर्यटकीय स्थलहरु रहेका छन् । यस प्रदेशमा गर्मी हुने हुँदा रोग तथा महामारीहरुको जोखिम अन्य प्रदेशमाभन्दा बढी रहेको पाइन्छ । बर्षाको समयमा पानी अत्यधिक पर्ने तथा हिमालबाट पहाड हुँदै तराईसम्म बग्ने पानीले गर्दा यस प्रदेशमा बाढीको जोखिम वर्षेनि हुने गर्दछ । पातलो कपडा तथा प्रायः धेरै समय प्रयोग गरिन्छ भने यस प्रदेशमा तीन महिना मात्र अलि बढी चिसो हुने भएको कारण बाक्लो लुगाको पनि प्रयोग गरिन्छ । नेपालको छिमेकी जिल्ला भारतसँग खुल्ला सिमाना रहेको कारण बहुआयमिक नजिकको सम्बन्ध रहेको छ भने भारतीय संस्कृतिको पनि प्रभाव परेको पाइन्छ । सनपाट, कपास, उखुको उत्पादन र औद्योगिकीकरण भएको छ भने तराईको केही भू–भागमा चियाको पनि राम्रो खेती भएको पाइन्छ । पछिल्लो समय हिमाल तथा पहाडबाट सुरक्षित बसाइँ सर्ने पवृत्तिको कारण हाल तराईमा बसोबास बाक्लो रहेको छ । तराई प्रदेशमा जनसंख्या बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक वस्तुहरुको प्रभावकारी पहुँचको कारण सुखी जीवन जीउनका लागि तराई प्रदेशमा बसोबास गर्ने कार्य बढेको हो ।
हाम्रो देश नेपाल विभिन्न प्रदेशमा विभाजन भएको हुनुका साथै यहाँ धेरै किसिमका जातजाति, भाषाभाषी, संस्कृति र रहनसहनले गर्दा नेपाल विश्वको एक उत्कृष्ट मुलुको रुपमा परिचित भएको छ । विभिन्न किसिमको भौगोलिक बनावटको कारण स्वर्गको टुक्क्रा जस्तै बन्न सफल यस देश नेपालमा छ वटा अलग–अलग ऋतुहरु रहेका छन् । यहाँको भूगोलले एक किसिमको सुन्दरता प्रदान गरेको छ । हावापानी तथा माटोको कारण अलग अति राम्रो प्रकृतिको भूगोलमा चिनिन सफल भएको छ । हामी नेपाली जुन भौगोलिक धरातलमा बसेता पनि हामीबीच सद्भाव, भाइचारा तथा विश्वबन्धुत्वको भावना जागृत भएको पाइन्छ । नेपालको भौगोलिक अवस्थालाई अझ परिस्कृत तथा समयसापेक्ष रुपमा निर्माणको गतिमा अगाडि बढाउनु पर्दछ । हिमाली प्रदेश तथा पहाडी प्रदेशलाई अझ सझाउन सकेमा विकास निर्माणको गतिमा अगाडि लान सकेमा यस क्षेत्रमा पर्यटकीय सम्भावना प्रचुर मात्रामा हुने गर्दछ ।
नेपालको भौगोलिक अवस्था हेर्नको लागि भनि लाखौको संख्यामा विदेशी पर्यटकहरु हाम्रो देश नेपालमा आउने गर्दछन् । भौगोलिक सुन्दरताले पनि हाम्रो देश नेपाल धनी रहेको छ । नेपाल सुन्दर हुनुमा भौगोलिक अवस्था नै प्रमुख रहेको छ । भूगोल अनुसारका ताल, झरना तथा नदीहरुले गर्दा भौगोलिक सम्भावना बोकेको यस देश जति घुमे पनि कहिल्यै अघाइँदैन । हिमाली प्रदेश र पहाडी प्रदेशमा आफ्नो छुट्टै किसिमको विशेषता रहेको छ । जसबाट विदेशी पर्यटकहरु पनि मोहित हुने गर्दछन् । खेतीपाती तथा अन्न उत्पादनमा कमी भएता पनि यस प्रदेशमा पशुपालन तथा व्यवसायले यहाका मानिसहरु आत्मानिर्भर बनेका छन् । अधिकांश समय चिसो हुने यस प्रदेशमा बाक्लो लुगाको धेर ैनै माग हुने गर्दछ ।
अरु प्रदेश जस्तै तराई प्रदेशको पनि आफ्नै किसिमको विशेषता रहेको कारण यहाको भौगोलिक अवस्था अझै राम्रो रहेको छ । नेपालको अन्न भण्डारको रुपमा पनि चिनिने यस प्रदेशमा अधिकांश ठाउँमा खेतीपानी नै गरिन्छ भने अन्य ठाउँमा उद्योग तथा व्यवसाय पनि गरिन्छ । यसरी नेपाललाई हिमाली प्रदेश, पहाडी प्रदेश तथा तराई प्रदेश गरी तीन प्रदेशमा विभाजन गरी भौगोलिक अवस्थिति बनेको छ । यहाँको भौगोलिक अवस्था एक प्रकारले अति नै राम्रो रहेको कारण यस देश सुन्दर तथा शान्त रहेको छ । धरातलीय स्वरुप तथा यहाको विविध विशेषता लोभलाग्दो रहेको छ ।