| हाल संचालनमा रहेका कक्षाहरु: |      

प्रश्न : जलवायु परिवर्तन भनेको के हो ? विश्वमा जलवायुको सन्दर्भमा के कस्ता बहसहरु भएका छन् ? उल्लेख गर्नुहोस् ।

LoksewaGyan ८ बैशाख २०७९,बिहीबार

प्रश्न : जलवायु परिवर्तन भनेको के हो ? विश्वमा जलवायुको सन्दर्भमा के कस्ता बहसहरु भएका छन् ? उल्लेख गर्नुहोस् ।

  • जलवायु परिवर्तन शब्दले के जनाउँछ भने मानिसका क्रियाकलापका कारण पृथ्वीको सतहमा भएको तापक्रमको वृद्धि हुन्छ। जसले वातावरणमा हुने परिवर्तन देखाउँछ। जस्तै, पानी पर्र्ने, समयमा घटबढ हुने, कतै सुक्खा हुने, कतै धेरै पानी पर्ने जस्ता घटना जलवायु परिवर्तनका कारणले भएका हुन सक्छन्। तर यी कुरा प्राकृतिक कारणले पनि हुन्छन्।
  • यस्तो प्राकृतिक कारणले भएको जुन परिवर्तन छ अथवा मौसममा जुन परिवर्तन हुँदैछ, त्यसलाई जलवायु परिवर्तन भन्न पाइँदैन। अहिलेको जलवायु परिवर्तन भनेको मानिसको क्रियाकलापका कारण बढेको वातावरणीय प्रभाव हो। जसका कारण पानी पर्ने पद्धतिमा परिवर्तन आयो। पहिरो वा बाढीजस्ता प्राकृतिक विपत्तिहरूमा तीव्रता आयो। यसो भएको छ भने त्यसलाई जलवायु परिवर्तन भन्न सकियो। मानिसका क्रियाकलापका कारण पृथ्वीमा तापक्रम बढेको हुनु पर्‍यो। मुख्य कुरा तापक्रम वृद्धि नै हो। मानिसले गरेका क्रियाकलापबाट पृथ्वीको सतहमा तापक्रम बढ्दैछ। त्यो तापक्रम बढेका कारण जलवायुमा प्रभाव पर्‍यो भने त्यो चाहिँ जलवायु परिवर्तनको प्रभाव हो। अहिलेको अवस्था चलनचल्तीको जलवायु परिवर्तनको प्रभाव हो।
  • विगतसँग तापक्रम दाँजेर हेर्दा नेपालमा तराईभन्दा हिमालतिर धेरै बढेको तथ्यांकहरूले देखाउँछ। यसरी तापक्रम बढ्दा नेपालमा त्यसको प्रभाव पानी पर्ने पद्धतिमा परेको छ। पहिला पहिला सिमसिमे वर्षा हुन्थ्यो। हप्ता दिनसम्म पनि पानी परिराखेको हुन्थ्यो। अचेल त्यस्तो हुँदैन।तर वर्षभरिमा पर्ने जति पानी हो, त्यो पानी त्यति नै परिराखेको छ। त्यसमा घटबढ भएको छैन। पहिला पानी सबैतिर वितरण भएर पथ्र्यो भने अहिले कुनै निश्चित ठाउँमा बढी पर्ने भएको छ। अरू ठाउँमा थोरै पर्ने भएको छ। त्यसको नतिजा खडेरीको समस्या देखिएको छ।
  • माथि हिमाल तात्न थालेको हुनाले हिउँ सधैंको भन्दा छिटो पग्लन थाल्यो र हिमपोखरीमा पानीको मात्रा पनि बढ्न थाल्यो। धेरै पानी भएपछि पोखरीले थाम्न नसकेर पोखरीको किनारा फुटेर ठूलाठूला बाढी आउन थालेका छन्। यसले तल्लो तटीय क्षेत्रका मान्छेलाई समस्यामा पार्ने एउटा कुरा छ। अर्को, ती हिमतालहरू हामीले सजिलैसँग गएर निरीक्षण गर्न सक्दैनौं। एकदम विकट ठाउँमा छन्। यी ताल कहिले फुट्छन् ? के स्थिति भइराखेको छ ? भनेर निरीक्षण गरिराख्नुपर्ने हुन्छ। तर, त्यहाँ मान्छे जान सक्ने स्थिति नै हुँदैन, छैन। यस्तो परिस्थितिलाई विज्ञानका विविध उपाय प्रयोग गरेर त्यो ताल कसरी बढ्दैछ ? कहिले फुट्ने सम्भावना छ ? आदि विषयमा सोधिखोजी गर्नुपर्ने हो।

 

विश्वमा जलवायु बहस

  • संयुक्त राष्ट्रसंघले सन् १९७२ मा स्विडेनको स्टकहोममा विश्वमै पहिलो पटक अन्तर्राष्ट्रिय पर्यावरण सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा सहभागी १ सय १९ राष्ट्रले ‘एक धर्ती’को सिद्धान्तमा रही संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको प्रारम्भ गरे। पर्यावरण संरक्षणको दिशामा स्टकहोम घोषणापत्र प्रस्तुत गरे। त्यही सम्मेलनले ५ जुनमा विश्व पर्यावरण दिवस मनाउने स्वीकृति दियो। 
  • विश्व मौसम विज्ञान संगठन र संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमद्वारा सन् १९८८ मा इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी)को स्थापना भयो। आईपीसीसीद्वारा प्रस्तुत प्रतिवेदनले अन्तर्राष्ट्रिय वार्ता र सन्धिसम्झौतालाई वैज्ञानिक आधार प्रदान गर्‍यो। साथै जलवायु परिवर्तनसम्बन्धी जोखिम प्रवद्र्धनका सन्दर्भमा पनि यसले उचित दृष्टिकोणको विकास गर्‍यो। त्यसको दुई वर्षपछि आईपीसीसीले पहिलो मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्‍यो। उक्त प्रतिवेदनमा मानवीय गतिविधिले हुने उत्सर्जनका कारण ग्रीन हाउस ग्यासको वृद्धि भई यसले विश्व जलवायुमा प्रभाव पारेको उल्लेख छ। सोही कारण आईपीसीसीले दोस्रो जलवायु सम्मेलनको आह्वान गर्‍यो। 
  • ब्राजिलको राजधानी रियो डी जेनेरियोमा सन् १९९२ मा पर्यावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलन भयो। उक्त सम्मेलन रियो शिखर सम्मेलन वा पृथ्वी शिखर सम्मेलन भनेर परिचित छ। त्यस बेला पर्यावरणको रक्षार्थ एक बृहत् सन्धिमा सहमति भयो। उक्त सहमतिलाई संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (यूएनएफसीसीसी) भनिन्छ। सन् १९९४ मा उक्त महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरूलाई ‘पार्टिज’को संज्ञा दिइयो। जलवायु परिवर्तनको सन्दर्भमा एक दृष्टिकोण विकास गर्न हरेक वर्ष कन्फ्रेन्स अफ पार्टिज (कोप)को सम्मेलन आयोजना गरिने तय भयो।
  • जर्मनीको राजधानी बर्लिनमा सन् १९९५ मा आयोजित पहिलो कोप सम्मेलनको अध्यक्षता जर्मनीकी तत्कालीन पर्यावरणमन्त्री एन्जेला मर्केलले गरेकी थिइन्। बर्लिनमा सहभागी राष्ट्रले गरेका प्रतिबद्धतालाई बलियो बनाउन क्योटो प्रोटोकलको पृष्ठभूमि तयार पारिएको थियो। यसको सचिवालय अर्को वर्ष जेनेभामा सारियो। सन् १९९७ डिसेम्बर ११ मा आयोजित तेस्रो कोप सम्मेलनमा क्योटो प्रोटोकल अपनाइयो। जुन हरितगृह ग्यासहरूको उत्सर्जन घटाउने पहिलो विश्वब्यापी सन्धि हो। कोपको छैटौं सम्मेलनमा महत्वपूर्ण उपलब्धि हासिल भयो। त्यस बेला सबै सदस्य राष्ट्रका सरकारहरूबीचको बृहत् राजनीतिक सहमतिको परिणाम स्वरूप सन् १९९७ को क्योटो प्रोटोकलको सन्दर्भमा गभर्निङ म्यानुअलमा सहमति भयो। 
  • युरोपेली संघले सन् २००५ जनवरीमा उत्सर्जन व्यापारको सुरुआत गर्‍यो। विश्वको पहिलो र सबैभन्दा ठूलो उत्सर्जन व्यापार योजना संघको जलवायु नीतिको प्रमुख स्तम्भका रूपमा सुरु गरिएको थियो। योजनाअन्तर्गत संघमा कार्बन डाइअक्साइड उत्सर्जनको आधा भूमिका निभाउने प्रतिष्ठानहरूलाई नियमन गरिएको थियो। 
  • कोपको १३ औं सम्मेलनले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न बाली कार्ययोजना पारित गर्‍यो। कार्यक्रमलाई साझा दृष्टिकोण, न्यूनीकरण, अनुकूलन, प्रविधि र वित्तीय गरी पाँच मुख्य खण्डमा विभाजन गरिएको थियो। डेनमार्कको कोपेनहेगनमा आयोजित कोपको १५औं सम्मेलनमा कोपेनहेगन सम्झौता पारित भयो। विकसित देशहरूले सन् २०१० देखि २०१२ को अवधिमा ३० अर्ब अमेरिकी डलरको आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। 
  • फ्रान्सको राजधानी पेरिसमा सन् २०१५ डिसेम्बरमा आयोजित २१ औं सम्मेलनले ऐतिहासिक पेरिस सम्झौता गरेको थियो। सम्मेलनमा जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन कम गर्न र दिगो विकासमा लगानी गर्न १ सय ९६ पक्षराष्ट्रहरूबीच सहमति भयो। पेरिस सम्झौताले पहिलो पटक ऐतिहासिक, वर्तमान र भविष्यका जिम्मेवारीहरूको आधारमा राष्ट्रहरूलाई एकसाथ उभ्याउने काम गर्‍यो। 
  • सन् २०१९ सेप्टेम्बर २३ मा पेरिस सम्झौता कार्यान्वयन गर्ने प्रयासलाई तीब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अध्यक्षतामा न्युयोर्कमा शिखर सम्मेलन भयो। पेरिस सम्झौताअन्तर्गत प्रत्येक देशले जलवायु परिवर्तनसम्बन्धी समन्वयात्मक प्रयास बढाउने प्रतिबद्धता सम्मेलनमा गरियो। 
  • पेरिस जलवायु सम्झौताले औद्योगिक क्रान्तिपूर्वको तुलनामा यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य लिएको थियो। पृथ्वीको तापक्रम डरलाग्दो रूपले बढ्दै गइरहेकाले यसलाई १.५ सेल्सियसभन्दा कममा सीमित राख्न असम्भव रहेको भन्दै केही राष्ट्रले हालै स्कटल्यान्डको ग्लास्कोमा आयोजित २६औं सम्मेलनमा असन्तुष्टिसमेत जनाए। यद्यपि सन् २०३० सम्म तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित राख्ने योजना बनाइनु सम्मेलनको उपलब्धिका रूपमा लिइएको छ।
  • करिब दुई सय राष्ट्रले जलवायु संकट रोक्न एक नयाँ सहमति गरे। उत्सर्जन तीव्र गतिले कम गर्ने र जलवायु परिवर्तनको असरसँग जुध्न विकासशील राष्ट्रजाई थप सहयोग गर्ने सहमतिमा उल्लेख छ। अत्यधिक हरितगृह ग्यास उत्सर्जनमा जिम्मेबार कोइलाको प्रयोग घटाउने विषय पनि सम्मेलनमा उठ्यो। 
  • प्रत्येक राष्ट्रले जलवायुसम्बन्धी अध्यावधिक नीतिहरू पाँच वर्षमा संयुक्त राष्ट्रसंघलाई बुझाउनुपर्ने, जलवायु अनुकूलनको विश्वव्यापी लक्ष्यलाई लिएर भएका कामहरू दुई वर्षभित्र सकाइने सहमति पनि सम्मेलनमा भयो। 

Share this